१२ असार २०८३, शुक्रबार

एमालेमा २९९ केन्द्रीय सदस्यको कार्यविभाजन, ‘मिसन पार्टी जागरण’ तीव्र बनाउने तयारी

काठमाडौं । नेकपा एमालेले पार्टीका २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीको पछिल्लो ‘अन्तर पार्टी निर्देशन–२’ मार्फत एमालेले केन्द्रदेखि पालिका तहसम्मका नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँट गर्दै ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र बनाउने रणनीति अघि सारेको हो।

आगामी निर्वाचन र पार्टी सुदृढीकरणलाई लक्षित गर्दै एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई भूगोल, विभाग र सङ्गठनात्मक क्षेत्रको जिम्मेवारी तोकेको जनाएको छ। कार्यविभाजनअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन्।

त्यसैगरी, पार्टीका उपाध्यक्षहरूलाई विभिन्न विभाग, क्षेत्र र अभियानको समन्वय गर्ने जिम्मेवारी दिइएको छ। महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी सुम्पिएको छ।

एमालेले नयाँ कार्यविभाजनमार्फत पार्टी संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय बनाउने, सदस्यता विस्तार गर्ने, सङ्गठनात्मक अनुशासनलाई प्रभावकारी बनाउने र जनस्तरसम्म पार्टी गतिविधि पुर्‍याउने लक्ष्य राखेको छ।

पार्टीले ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत पालिका, वडा र टोल तहसम्म सङ्गठन परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। यस अभियानमार्फत नेता–कार्यकर्तालाई जनतासँग प्रत्यक्ष जोड्ने, स्थानीय मुद्दालाई पार्टी संरचनाभित्र व्यवस्थित रूपमा उठाउने र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी बनाउने एमालेको तयारी छ।

एमालेको पछिल्लो कार्यविभाजनलाई पार्टीभित्र जिम्मेवारी स्पष्ट पार्ने र आगामी निर्वाचनका लागि सङ्गठनात्मक तयारी बलियो बनाउने कदमका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button