१२ असार २०८३, शुक्रबार

महिला नेतृत्वलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्ने राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्नु आजको आवश्यकता भएको बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महिलाको सम्मान, आत्मनिर्भरता र समृद्धि मुलुकको दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताएका हुन्।

यस वर्ष ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गरी सम्मानजनक तथा सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। उनले घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य र नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान पुर्‍याउने सबै व्यक्ति, संस्था र सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। उनले विगतमा महिलाका अधिकार सुनिश्चित गर्न भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसले थप ऊर्जा र पहिचान प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी चार महत्त्वपूर्ण विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको छ।

राष्ट्रपति पौडेलका अनुसार महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गर्नु आवश्यक छ। महिलालाई आत्मनिर्भर बनाउन, स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न तथा निर्णय प्रक्रियामा सहभागिता बढाउन सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उनले उल्लेख गरेका छन्।

उनले नेपाली महिलाले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला र उद्यमका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको पनि बताएका छन्।

राष्ट्रपति पौडेलले सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तन ल्याई नेपाली महिलाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनका अनुसार लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माणका लागि महिला अधिकारको सम्मान र व्यवहारिक कार्यान्वयन दुवै उत्तिकै आवश्यक छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button