दूधकोशी जलविद्युत् आयोजनाको ठेक्का यसै वर्ष, बजेटमा समावेश भएपछि काम अघि बढ्ने

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानास्थित रभुँवाघाटबाट निर्माण गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यो आयोजना समावेश गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने आधार बनेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइने र यसै वर्ष ठेक्का आह्वान गरिने जानकारी दिएका छन्।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गरिने यो आयोजना बहुउद्देश्यीय जलविद्युत् आयोजनाका रूपमा अघि बढाइएको छ। करिब ४३ वर्षअघि अध्ययन सुरु गरिएको यस आयोजनामा एसियाली विकास बैङ्कलगायत वित्तीय संस्थाले लगानी गर्ने जनाइएको छ।
आयोजनाका लागि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा निजी गरी करिब २५ हजार रोपनी जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सरकारी जग्गाबाहेक व्यक्तिको नाममा रहेको करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान छ।
बजेट अभाव र मुआब्जा निर्धारणमा ढिलाइ हुँदा आयोजना निर्माणबारे स्थानीयस्तरमा अन्योल बढ्दै आएको थियो। मुआब्जा निर्धारण नहुँदै प्रभावित क्षेत्रका जग्गाको किनबेचमा रोक लगाइएपछि स्थानीय जग्गाधनीले समस्या झेल्दै आएका थिए। बजेटमा आयोजना समावेश भएपछि स्थानीयवासीमा आशा बढेको छ।
सरकारले दूधकोशी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ। आयोजनाबाट प्रभावित जग्गाको मुआब्जा निर्धारणका लागि भएको सर्वदलीय छलफलमा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार चलनचल्तीको मूल्य, बैङ्क तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा भएको कारोबार मूल्य र सरकारी दररेटलाई आधार बनाउने निष्कर्ष निकालिएको थियो।
दूधकोशी आयोजनाका लागि खोटाङतर्फ २०७८ असारदेखि जग्गा कारोबार रोक्का गरिएको छ भने ओखलढुङ्गातर्फ जग्गा अधिग्रहणका लागि २०७८ फागुनमा सूचना प्रकाशित गरिएको थियो। तर जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षाबीच मेल नहुँदा मुआब्जा निर्धारणमा ढिलाइ भएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
प्रारम्भिक अध्ययनअनुसार आयोजना सञ्चालनका क्रममा १६२ घरपरिवार पूर्ण रूपमा विस्थापित हुनेछन् भने ९८८ परिवार आंशिक रूपमा प्रभावित हुनेछन्। बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइएको दूधकोशीबाट करिब एक हजार ५० परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने अनुमान गरिएको छ।
रभुँवाघाटमा २२० मिटर अग्लो बाँध निर्माण गरी बन्ने जलाशयबाट सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजना सञ्चालनमा आएपछि वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ।
दूधकोशी आयोजना सञ्चालनपछि विद्युत् उत्पादनसँगै पर्यटन, डुङ्गा सयर, माछापालन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। जलाशय बनेपछि हलेसी तथा सगरमाथा क्षेत्रतर्फ आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने र खोटाङ, ओखलढुङ्गा तथा सोलुखुम्बुको पर्यटन विकासमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ।





