३ असार २०८३, बुधबार

जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गरिने

जनकपुरधाम । सङ्घीय सरकारले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत माता सीताको जन्मभूमि तथा मधेस प्रदेशको राजधानी जनकपुरधामलाई विशेष विवाह गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेका हुन्।

रामायणकालीन धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको जनकपुरधामलाई विवाह पर्यटनसँग जोडेर विकास गर्ने सरकारको योजनाले मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बजेट वक्तव्यमा रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उल्लेख छ। त्यस्तै मधेस प्रदेशको जीवनरेखाका रूपमा मानिने हुलाकी सडक, रेल्वे विकास, पूर्व–पश्चिम राजमार्गको विकास तथा सडक स्तरोन्नतिका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

सरकारले मधेस प्रदेशको शिक्षा, स्वास्थ्य, खेलकुद तथा पोषण कार्यक्रमका लागि पनि बजेट विनियोजन गर्ने जनाएको छ। यी कार्यक्रमले प्रदेशको पूर्वाधार विकास, सामाजिक सेवा विस्तार र स्थानीय आर्थिक गतिविधि बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थमन्त्री डा. वाग्लेको घोषणालाई जनकपुरधाम क्षेत्रमा सकारात्मक रूपमा लिइएको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले सरकारको घोषणाले जनकपुरधाममा पर्यटकको सङ्ख्या वृद्धि हुने र रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

उनका अनुसार बजेटमार्फत करको दरमा गरिएको छुटको व्यवस्थाले उद्योगी तथा व्यवसायीलाई राहत दिएको छ। यसले उद्योग तथा व्यापार क्षेत्रलाई सहयोग पुग्ने उनको भनाइ छ।

यसैगरी पत्रकारका लागि दिइँदै आएको कल्याणकारी कोषमा बजेट विनियोजन गर्ने घोषणा पनि सकारात्मक रहेको स्थानीय पत्रकार रञ्जन मिश्रले बताए।

सरकारको घोषणा कार्यान्वयनमा आए जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई विवाह पर्यटन, सांस्कृतिक आदानप्रदान र स्थानीय आर्थिक विकासको महत्त्वपूर्ण केन्द्रका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button