मदिरा, सुर्ती र जङ्क फुडमा अन्तःशुल्क वृद्धि

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरमा हेरफेर गर्दै केही वस्तुमा अन्तःशुल्क बढाएको छ भने ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले मदिरा, सुर्तीजन्य वस्तु, जङ्क फुड, पेय पदार्थ, रङ्गरोगन तथा केही खाद्य वस्तुमा अन्तःशुल्क दर बढाएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमा कर प्रणालीलाई सरल र व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न वस्तुमा कर संरचना परिवर्तन गरिएको जानकारी दिएका छन्।
आर्थिक विधेयकअनुसार गुड, सख्खर र भेलीमा लाग्दै आएको अन्तःशुल्क प्रतिक्विन्टल १३८ रुपैयाँबाट बढाएर १४० रुपैयाँ पुर्याइएको छ। उखुको खुदोमा लाग्ने अन्तःशुल्क प्रतिक्विन्टल ११० रुपैयाँबाट बढाएर ११५ रुपैयाँ बनाइएको छ।
स्पागेटी, म्याकरोनी र पास्ताजस्ता वस्तुमा प्रतिकिलो २० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर ३५ रुपैयाँ पुर्याइएको छ। त्यस्तै कुरकुरे, कुरमुरे, लेज र चिजबलजस्ता प्याकेटबन्द खानेकुरामा प्रतिकिलो २० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर ७५ रुपैयाँ बनाइएको छ। आलु चिप्समा प्रतिकिलो १८ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क अब ३० रुपैयाँ पुगेको छ।
फलफूलका विभिन्न जुसमा पनि अन्तःशुल्क बढाइएको छ। सुन्तला, भोगटे, भुइँकटहर, अङ्गुर, स्याउ, गोलभेँडा र आँपका जुसमा प्रतिलिटर १३ रुपैयाँ ५० पैसा लाग्दै आएको अन्तःशुल्क बढाएर १४ रुपैयाँ बनाइएको छ।
सुर्तीरहित पान मसलामा प्रतिकिलो ८७५ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर एक हजार १५० रुपैयाँ पुर्याइएको छ। सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो ३७५ रुपैयाँ लाग्ने गरेको अन्तःशुल्क अब ५०० रुपैयाँ कायम गरिएको छ।
पेय पदार्थतर्फ अल्कोहलरहित बियरमा प्रतिलिटर ४५ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क दोब्बर बढाएर ९० रुपैयाँ पुर्याइएको छ। इनर्जी ड्रिङ्समा प्रतिलिटर ५२ रुपैयाँ रहेको अन्तःशुल्क १२० रुपैयाँ बनाइएको छ भने हल्का पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर ६० रुपैयाँ कायम गरिएको छ।
माल्टबाट बनेको पाँच प्रतिशतसम्म अल्कोहलयुक्त बियरमा प्रतिलिटर २४० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर २५५ रुपैयाँ पुर्याइएको छ। १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर ४६० रुपैयाँबाट ४९० रुपैयाँ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा ५३५ रुपैयाँबाट ५७० रुपैयाँ बनाइएको छ।
छ्याङ अर्थात् कन्ट्री बियरमा प्रतिलिटर ४८ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क ५० रुपैयाँ बनाइएको छ। १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिश्रित मदिरा तथा कक्टेलमा ५१६ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर ५७० रुपैयाँ पुर्याइएको छ। तर सेम्पेन, सेरी, मिड, पेरी र साइडरलगायतका पेय पदार्थमा प्रतिलिटर ५१६ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क घटाएर ४९० रुपैयाँ बनाइएको छ।
सुर्तीजन्य वस्तुमा पनि अन्तःशुल्क बढाइएको छ। सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली ३१ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर ३५ रुपैयाँ कायम गरिएको छ। फिल्टर नभएको चुरोटमा प्रति एम ७७८ रुपैयाँ रहेको अन्तःशुल्क ७८० रुपैयाँ पुगेको छ। ७० मिलिमिटरसम्म लम्बाइ भएको फिल्टरयुक्त चुरोटमा अन्तःशुल्क एक हजार ७९२ रुपैयाँबाट बढाएर एक हजार ८४५ रुपैयाँ बनाइएको छ।
रङ्गलेप, पेन्ट, इनामेल तथा सडकमा चिन्ह लगाउन प्रयोग हुने थर्मोप्लास्टिक पेन्टमा पनि अन्तःशुल्क बढाइएको छ। यी वस्तुमा ७ रुपैयाँ लाग्दै आएको अन्तःशुल्क १५ रुपैयाँ पुर्याइएको छ। त्यस्तै टायल वा रोलका रूपमा प्रयोग हुने फ्लोर कभरिङ सामग्रीमा १० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर १५ रुपैयाँ कायम गरिएको छ।
सरकारले एकातर्फ ३६० वस्तुमा अन्तःशुल्क खारेज गरेको छ भने अर्कोतर्फ स्वास्थ्य, उपभोग प्रवृत्ति र राजस्वसँग सम्बन्धित मानिएका मदिरा, सुर्तीजन्य वस्तु, प्रशोधित खाना तथा पेय पदार्थमा कर दर बढाएको छ।





