कोरलानाकाबाट एक सातामा ६१४ चिनियाँ इभी नेपाल भित्रिए
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै एक सातामा ६१४ वटा चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
लोमन्थाङ गाउँपालिका–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही जेठ ७ गतेदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ भित्रिएका ६१४ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनमध्ये हालसम्म ६१४ वटा इभीको भन्सार जाँचपास सम्पन्न भएको छ। ती सवारीसाधन चिनियाँ कम्पनी बिवाइडीका रहेको उनले जानकारी दिए।
चिनियाँ कम्पनीमार्फत बनेका थप विद्युतीय सवारीसाधन कति सङ्ख्यामा नेपाल भित्रिने हुन् भन्नेबारे यकिन विवरण प्राप्त नभएको भन्सार प्रमुख चुँडालले बताए। उनका अनुसार हिउँदयामपछि पहिलो चरणमा नाकाबाट इभी भित्रिन थालेका हुन् र आगामी दिनमा अझै ठूलो सङ्ख्यामा विद्युतीय सवारीसाधन नेपाल आउने जानकारी प्राप्त भएको छ।
नेपाल भित्रिएका कतिपय विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासको प्रक्रियामा रहेका छन्। जाँचपास भएका सवारीसाधन कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोमतर्फ झर्ने क्रममा रहेको भन्सार कार्यालयले जनाएको छ।
एक सातामा भन्सार जाँचपास भएका दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङको जोमसोम आइपुगेका छन्। तीमध्ये केही सवारीसाधन घरपझोङ–४ जोमसोमस्थित सार्वजनिक बसपार्कमा पार्किङ गरी चार्जिङका लागि रोकिएका छन्।
कोरलानाका हुँदै भित्रिएका इभीका लागि पर्याप्त चार्जिङ स्टेसन नहुँदा सवारीसाधनलाई केही समय ‘होल्डिङ’ गरेर राख्नुपर्ने अवस्था आएको भन्सार प्रमुख चुँडालले बताए। उनका अनुसार उपल्लो मुस्ताङको चराङमा एउटा र जोमसोममा दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा छन्।
नेपाल–चीन उत्तरी कोरलानाका गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो। तातोपानी र रसुवागढी नाकाको विकल्पका रूपमा प्रयोग हुन थालेको यो नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि चीनतर्फ निकासी तथा पैठारी कारोबार बढेको भन्सार कार्यालयले जनाएको छ।
भन्सार प्रमुख चुँडालका अनुसार कोरलानाकाबाट गत पुस मसान्तसम्म दुई हजार ३२९ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। गत भदौ ३१ गतेदेखि वैशाखसम्म यो नाका हुँदै भएको निकासी तथा पैठारी कारोबारबाट पाँच अर्ब ७८ करोड छ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ।
कोरलानाकाबाट विद्युतीय सवारीसाधनसहित अन्य सामग्रीको आयात–निर्यात बढेसँगै स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना भएका छन्। चीनबाट भित्रिने इभी तथा मालबाहक कन्टेनर सीमावर्ती क्षेत्रका स्थानीय चालकले चलाउने गरेका कारण स्थानीय युवाले वैकल्पिक रोजगारी पाएको भन्सार कार्यालयले जनाएको छ।
कोरलानाका हुँदै बढ्दो इभी आयातले उत्तरी नाकाको व्यापारिक महत्त्व थप बढाएको छ। यसले चीनसँगको वैकल्पिक व्यापारिक मार्गलाई सक्रिय बनाउनुका साथै मुस्ताङ क्षेत्रमा पूर्वाधार, यातायात र स्थानीय आर्थिक गतिविधि विस्तारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।





