१२ असार २०८३, शुक्रबार

संविधान र लोकतन्त्रमाथि चुनौती देखेको भन्दै एमालेद्वारा सरकारविरुद्ध सशक्त प्रतिवादको घोषणा

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा संविधान, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती देखिएको निष्कर्ष निकाल्दै वर्तमान सरकारका गतिविधिविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालयको आठौं बैठकले जारी गरेको ‘अन्तरपार्टी निर्देशन–२’ मा यस्तो उल्लेख गरिएको हो।

एमालेले गत भदौ २३–२४ का घटनापछि मुलुक प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै वर्तमान सरकारले प्रतिशोधको राजनीति, स्वेच्छाचारिता र अधिनायकवादी शैली अपनाएको आरोप लगाएको छ। पार्टीले जारी गरेको निर्देशनमा भनिएको छ, ‘नयाँ सरकारको पहिलो काम नै नेकपा (एमाले) र नेपाली कांग्रेसका विरुद्धमा प्रतिशोध साँध्ने कुरामा केन्द्रित रह्यो। बिनाकुनै आधार गैरकानुनी तरिकाबाट अमानवीय रूपमा पार्टी अध्यक्षको गिरफ्तारी गरेर १३ दिनसम्म मुद्दा दर्ता गर्ने आधार नभेटेपछि अदालतको आदेशमा छोड्ने काम भएको छ। तर षड्यन्त्र जारी छ। षड्यन्त्र हाम्रा विरुद्धमा मात्र होइन, लोकतान्त्रिक शक्तिहरूका विरुद्धमा समेत केन्द्रित छ।’

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमाथि संविधान, कानुन, संसद् तथा राजनीतिक दललाई बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले शासन सञ्चालन गरेको आरोप लगाएको छ। विद्यार्थी संगठन, पेसागत संगठन र सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिएको तथा भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएर अमानवीय व्यवहार गरिएको दाबी पनि पार्टीले गरेको छ।

यसैबीच, एमालेले सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावकारी उपयोगमा आफू पछि परेको स्वीकार गर्दै संगठनलाई जनमुखी, अनुशासित र जनआधारित बनाउने अभियानलाई तीव्र बनाउने निर्णय पनि गरेको छ। पार्टीले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षा गर्दै वर्तमान सरकारका गतिविधिको भण्डाफोर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button