१२ असार २०८३, शुक्रबार

भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार, मुख्यमन्त्री योगीले गरे सहयोग

रूपन्देही । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाएर राखिएका ४५३ नेपालीको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरी शनिबार उनीहरूलाई नेपाल ल्याएको हो।

गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो। आकर्षक जागिर र राम्रो कमाइको प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्याएर बन्धक बनाइरहेको सूचना प्राप्त भएपछि प्रहरीले अपरेसन सुरु गरेको थियो।

नेपाल प्रहरीको यस अपरेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्त्वपूर्ण सहयोग गरेका थिए। बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याउने र त्यहाँ प्रतिव्यक्ति ७ हजारदेखि १ लाख भारतीय रुपैयाँसम्म रकम असुल गरी सदस्यता विस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा लैजाने गरेको खुलेको छ।

रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त भएको बताए। ‘त्यही सूचनाका आधारमा पिछा गरेर बन्धक बनाएर राखिएको स्थान पत्ता लागेपछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, चार दिनको निरन्तर प्रयासपछि उत्तर प्रदेशका मुख्यमन्त्री र भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गर्न सफलता मिलेको हो। ‘नेपालका विभिन्न जिल्लाबाट त्यहाँ पुर्याएर प्रति सदस्य १ लाख भारतीय रुपैयाँ शुल्क लिएर सदस्यता विस्तार गर्ने र सदस्य बन्न नसक्नेहरूको परिवारलाई धम्क्याएर रकम असुलीको प्रयास गर्ने गरेको देखिएको छ,’ उनले भने।

जागिरको प्रलोभनमा त्यहाँ पुर्याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य विस्तारमा लगाउने गरेको उनले बताए। प्रहरीले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ। सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ। तीमध्ये बन्धक बनाउने मुख्य गिरोहको पहिचान गरेपछि पीडितहरूलाई परिवारको जिम्मा लगाएर थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button