१२ असार २०८३, शुक्रबार

बालेन सरकार गठनपछि दुई महिनामै तेस्रो अमेरिकी उच्चस्तरीय भ्रमण : उपविदेशमन्त्री रोजर्स आज नेपाल आइपुग्दै

काठमाडौँ। अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) सारा बी. रोजर्स आज साँझ नेपाल आइपुग्ने कार्यक्रम छ। उनी भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउन लागेकी हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको दुई महिनाको अवधिमा अमेरिकाबाट हुन लागेको यो तेस्रो उच्चस्तरीय भ्रमण हो।

हिजो नयाँदिल्ली पुगेकी उपविदेशमन्त्री रोजर्स आज काठमाडौं आइपुग्ने र तीन दिने भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, नेपालस्थित अमेरिकी दूतावासले शनिबार आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा उपविदेशमन्त्री रोजर्स प्रमुख अतिथि बन्ने बताइएको छ। दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेकाले दूतावासले ‘सेभेन समिट ट्रेक्स’ सँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। हार्कर पहिलो सेवारत अमेरिकी कूटनीतिज्ञका रूपमा सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमान बनाएका थिए।

उपविदेशमन्त्रीको यो भ्रमणअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरिसकेका छन्। ती दुवै भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले प्रधानमन्त्री शाहसँग भेट गर्न पाएनन्। यसपटक पनि प्रधानमन्त्रीसँग भेटको कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन।

यसअघिका भ्रमणहरूमा अमेरिकी पक्षले द्विपक्षीय सम्बन्ध सुदृढीकरण, नेपालको लगानी वातावरण सुधार, वैदेशिक लगानी आकर्षण र आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको थियो। यसपटकको भ्रमण मुख्यतः सार्वजनिक कूटनीति र सगरमाथा आरोहणको सफलतासँग जोडिएको भए पनि द्विपक्षीय सम्बन्धका अन्य पक्षमा पनि छलफल हुने अपेक्षा गरिएको छ। छोटो अवधिमै अमेरिकी उच्चस्तरीय भ्रमणको यो शृङ्खलाले नेपालप्रति अमेरिकाको बढ्दो रणनीतिक चासोलाई सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button