भाजपा नेताहरूको टोली डोलेश्वर महादेव मन्दिरमा, मङ्गलबार स्वदेश फर्किने

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा) का नेताहरूको तीन सदस्यीय टोली बिहीबार भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिर पुगेको छ। भाजपा प्रवक्ता महेशचन्द्र वर्माको नेतृत्वमा रहेको टोलीमा पूर्वउपाध्यक्ष श्यामसुन्दर शंकरलाल जाजु र नेता सनवार मल सहभागी छन्।
भाजपा टोली हिजो दिउँसो साढे ३ बजे इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ई ११५५ मार्फत नयाँदिल्लीबाट काठमाडौं आएको थियो। टोली ग्वार्कोस्थित होटल रोयल टुलिपमा बसेको छ। उक्त होटलमा गत महिना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई आवासीय प्रशिक्षण दिएको थियो।
भाजपा टोली नेपालको चारदिने भ्रमणमा रहेको र आगामी मङ्गलबार स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ। भ्रमणका क्रममा उनीहरूले धार्मिकस्थलको अवलोकनका साथै अन्य भेटघाटसमेत गर्न सक्ने अनुमान गरिएको छ। तर, भ्रमणको आधिकारिक कार्यसूची सार्वजनिक गरिएको छैन।





