म्याग्दीमा डेढ महिनादेखि हराइरहेका ७६ वर्षीय वृद्धको शव सामुदायिक वनमा भेटियो

म्याग्दी। डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव शनिबार भेटिएको छ। वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरि गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार सडेको अवस्थामा भेटिएको शव कपडाको आधारमा घरपरिवारका सदस्यले सनाखत गरेपछि उनीहरूकै जिम्मा लगाइएको छ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरी शव उठाई परिवारको जिम्मा लगाएको प्रनाउ कार्कीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





