हिमालय संरक्षण विश्वकै साझा दायित्व हो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन्। ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिए।
पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान बलियो बनेको उल्लेख गरे। तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै उनले विविधता नै नेपालको शक्ति भएको बताए।
सगरमाथालाई मानवीय साहस, दृढ सङ्कल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डा. यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राखे। पर्यटन नेपालको समृद्धिको मुख्य आधार भएको उनको भनाइ छ।





