बिदा र गर्मीले मुस्ताङ-म्याग्दीका होटल भरिभराउ, चार दिनमा ३० हजार पर्यटक भित्रिए

म्याग्दी/मुस्ताङ – म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरू पाहुनाले भरिभराउ भएका छन्। गर्मी छल्न आएका भारतीय पर्यटक र लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको चाप बढेपछि होटल व्यवसायीलाई भ्याइनभ्याई भएको हो।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार भारतबाट गर्मी छल्न आएका र देशका विभिन्न ठाउँबाट बिदा मनाउन आएका पाहुनाले होटल खचाखच भरेका छन्। मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनालाई म्याग्दी, बागलुङ, कुश्मा र पोखरासम्म व्यवस्थापन गरिएको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। घाँसा प्रहरी चौकीको तथ्याङ्क अनुसार बुधबार ५,५८६, बिहीबार ७,८२७ र शुक्रबार ९,०८६ जना पर्यटक मुस्ताङ भित्रिए। शनिबार पनि सोही हाराहारीमा पर्यटक आएको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।
मुस्ताङका होटलको क्षमता दैनिक १० हजार र म्याग्दीका होटलको क्षमता दुई हजार पाहुना राख्न सक्ने भए पनि चापका कारण ती अटाउन नसकेका हुन्। मुक्तिनाथ दर्शन, हिमाली दृश्यावलोकन र गाडीबाटै कोरलानाकासम्म पुग्न सकिने सुविधाले मुस्ताङ धेरैको रोजाइमा परेको छ। पर्यटकको चापलाई ध्यानमा राखी माथिल्लो क्षेत्रमा लेक लाग्ने समस्याप्रति सचेतना अभियान पनि सञ्चालन गरिएको छ।
यद्यपि, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरो र स्तरोन्नतिका कारण यात्रामा भने केही कठिनाइ भएको पर्यटकको गुनासो छ।





