१२ असार २०८३, शुक्रबार

ओएससीई सम्मेलनमा रुसी राजदूतको आरोप : पश्चिमा मुलुक मिडिया स्वतन्त्रताकै विरोधी

बैंकक – रुसले पश्चिमा मुलुकहरू विपरीत विचार दमन गर्ने, सञ्चारमाध्यममाथि राजनीतिक सेन्सरसिप लाद्ने र दोहोरो मापदण्ड अपनाउने नीतिमा रहेको कडा आरोप लगाएको छ।

सन् २०२६ को ओएससीई एसियाली सम्मेलनको तेस्रो सत्रलाई सम्बोधन गर्दै थाइल्यान्डका लागि रुसी राजदूत एभगेनी तोमिखिनले सूचनामा स्वतन्त्र पहुँचकै अवस्थामा दिगो ह्रास आइरहेको बताए। उनले पश्चिमा मुलुकहरूले रुसी सञ्चारमाध्यममाथि गैरकानुनी सामूहिक तथा व्यक्तिगत प्रतिबन्ध लगाएको र डिजिटल वातावरणमा आईटी कम्पनीमार्फत दबाब सिर्जना गरेको आरोप लगाए।

ओएससीईका सम्बन्धित संस्थाहरूले मिडिया स्वतन्त्रताका आधारभूत दायित्वको उल्लङ्घनलाई बेवास्ता गर्दै द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारहरूको लक्षित हत्या र आक्रमणमा मौन रहने र अर्थहीन प्रतिक्रिया मात्र दिने गरेको उनको भनाइ थियो।

राजदूत तोमिखिनले किभ शासनद्वारा नागरिकविरुद्ध हुने अपराधमा ओएससीईको निष्क्रियता झनै प्रस्ट देखिने बताए। गलत सूचनाको बढ्दो प्रवाह, कृत्रिम बुद्धिमताको प्रयोग गरी नक्कली सामग्रीको ठूलो उत्पादन र विश्वव्यापी रूपमा यसको लक्षित वितरण भइरहेको उल्लेख गर्दै उनले प्रतिकारका लागि तीन मुख्य उपाय सुझाए।

पहिलो, एआई सामग्री पहिचान र लेबलिङका लागि अन्तर्राष्ट्रिय मञ्चमा विश्वव्यापी नियम विकास गर्नुपर्ने। दोस्रो, परराष्ट्र मन्त्रालयहरूबीच न्युरल नेटवर्क व्यवस्थापन र गलत सूचनाविरुद्ध लड्ने अनुभव आदानप्रदान बढाउनुपर्ने। तेस्रो, नागरिक समाजबाट नक्कली सामग्री उजागर गर्ने अभियान र डिजिटल साक्षरता अभिवृद्धिका शैक्षिक पहललाई समर्थन गर्नुपर्ने। सन् २०२४ मा सुरु भई हाल ५० भन्दा बढी मुलुकका एक सयभन्दा बढी विज्ञ रहेको स्वतन्त्र ग्लोबल फ्याक्ट–चेकिङ नेटवर्कलाई उनले यसको राम्रो उदाहरणका रूपमा प्रस्तुत गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button