१२ असार २०८३, शुक्रबार

चीनमा राष्ट्रिय विज्ञान दिवसमा उत्कृष्ट वैज्ञानिकको अनुभव आदानप्रदान

बेइजिङ – चीनको दशौँ राष्ट्रिय विज्ञान तथा प्रविधि कामदार दिवसको अवसरमा उत्कृष्ट विज्ञान तथा प्रविधिकर्मीहरूबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। प्राविधिक नवप्रवर्तनको केन्द्र मानिने बेइजिङको हाइदियान जिल्लास्थित झोङग्वानकुन सन्निहित बौद्धिकता नवप्रवर्तन औद्योगिक पार्कमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका वैज्ञानिकले आफ्नो करियर, चुनौती र मिसनबारे अनुभव बाँडेका थिए।

झोङग्वानकुन रोङ्जी विशिष्टीकृत रोबोटिक्स गठबन्धन (जेडएसआरए) को आयोजना तथा हाइदियान विज्ञान तथा प्रविधि संघको मार्गदर्शनमा कार्यक्रम भएको हो। गठबन्धनकी उपमहासचिव ताङ क्युसियाले भनिन्, “प्रत्येक मूल प्रविधिको सफलता र औद्योगिक स्तरोन्नतिको हरेक छलाङ हाम्रा वैज्ञानिकहरूको समर्पण र दृढताले मात्र सम्भव भएको छ।”

राष्ट्रिय अन्तरिक्ष अन्वेषण प्रविधिका प्रमुख विज्ञान सञ्चार विशेषज्ञ पाङ झिहाओले चीनको अन्तरिक्ष उद्योगमा बिताएका दशकौंको अनुभव सुनाए। उद्योग पछ्याउने अवस्थाबाट नेतृत्व गर्ने स्थितिमा पुगेको देखेका पाङले रकेट प्रणालीलाई ‘अन्तरिक्षयानको रगत’को संज्ञा दिँदै जटिल प्रविधिलाई सरल ढंगले बुझाए। “म धेरैभन्दा धेरै मानिसको मनमा अन्तरिक्ष विज्ञानको बीजारोपण गर्न चाहन्छु,” उनले भने।

बेइजिङ जियाओतोङ विश्वविद्यालयका सहप्राध्यापक ली जेनकुनले फोरडी प्रिन्टिङ प्रविधिमा गरेको काम प्रस्तुत गरे। उनको टोलीले प्रिन्ट गरिएका वस्तु समयसँगै आकार बदल्न सक्ने नयाँ विधि विकास गरेको छ। विगत तीन वर्षमा उनले दुर्गम क्षेत्रसहित सयभन्दा बढी विद्यालयको भ्रमण गरी अत्याधुनिक अवधारणा युवापुस्तासम्म पुर्याएका छन्। “विज्ञानको मूल्य चेतनाको दियो बाल्नुमा छ,” उनले भने।

पूर्व प्रमुख इन्जिनियर चेन सियाओदोङले विशेष रोबोटिक्स र आपतकालीन प्रतिकार्य उपकरण क्षेत्रमा गरेका अनुभव सुनाए। विदेशी आयातमा निर्भरताका कारण अग्रमोर्चाका कर्मचारी जोखिममा परेको अवस्थामा उनले स्वदेशी बम निस्क्रियीकरण र उद्धार रोबोट विकास गर्दै विदेशी एकाधिकार तोडेका थिए।

चिनियाँ भौगर्भिक सर्वेक्षण विकास अनुसन्धान केन्द्रकी पूर्व सहायक अनुसन्धानकर्ता झाङ जिङले ३५ वर्षे भौगर्भिक करियर र १५ वर्षको विज्ञान सञ्चार अनुभव बाँडिन्। प्राकृतिक स्रोत अनुगमनदेखि भौगर्भिक विशाल तथ्याङ्क प्रयोगसम्मका राष्ट्रिय परियोजनामा योगदान दिएकी उनी सेवानिवृत्तिपछि पूर्ण रूपमा विज्ञान प्रसारमा सक्रिय छिन्।

“विज्ञान सञ्चार एकतर्फी होइन, यो दोहोरो सशक्तीकरण हो,” उनले भनिन्। कार्यक्रममा अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न प्राविधिक कम्पनीका प्रतिनिधि गरी सयभन्दा बढी सहभागी थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button