चिनियाँ प्रधानमन्त्री ली छ्याङद्वारा कार्यस्थल सुरक्षा सुनिश्चित गर्न ठोस प्रयासको आह्वान

बेइजिङ। चिनियाँ प्रधानमन्त्री ली छ्याङले जनताको जीवन र सम्पत्तिको प्रभावकारी रूपमा रक्षा गर्न तथा समग्र सामाजिक स्थिरता कायम राख्न कार्यस्थल सुरक्षा सुनिश्चित गर्न ठोस प्रयासको आह्वान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्यसमेत रहेका लीले सुरक्षित उत्पादन सुनिश्चित गर्ने सम्बन्धमा जारी गरेको निर्देशनमा उक्त कुरा बताएका हुन्।
देशभरका सम्बन्धित अधिकारीहरूले जोखिम र खतरा निरीक्षणको गुणस्तर र प्रभावकारिता सुधार गर्नुपर्नेमा जोड दिँदै लीले उत्पादन सुरक्षासँग सम्बन्धित गैरकानुनी र गैरअनुपालन अभ्यासका साथै झुटा विवरण पेस गर्ने कार्यको कडाइका साथ छानबिन र सजाय गर्न आग्रह गरे। खानी, आतिसबाजी, यातायात र निर्माणजस्ता प्रमुख क्षेत्रका लागि सम्पूर्ण औद्योगिक शृङ्खलामा सुरक्षा सुपरिवेक्षण र व्यवस्थापन सुदृढ गर्नु आवश्यक रहेको उनले बताए। ठूला तथा विशेष गम्भीर दुर्घटनाको बारम्बार हुने घटनालाई दृढतापूर्वक रोक्न सम्बन्धित कर्मचारीहरूले आआफ्नो जिम्मेवारी वहन गर्नुपर्ने र सम्बन्धित उपायहरूको कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा पनि लीले जोड दिए।
चीन बाढीको मौसममा प्रवेश गरिरहँदा बाढी नियन्त्रण र विपद् राहतको अवस्था बढ्दो रूपमा गम्भीर र जटिल बन्दै गएको लीले बताए। उनले अनुगमन र चेतावनीलाई तीव्र बनाउन, आपतकालीन तयारीलाई बढाउन र उद्धार तथा राहत क्षमता सुदृढ गर्न आह्वान गरे।
यसैबीच, शनिबार बेइजिङमा सुरक्षित उत्पादनसम्बन्धी राष्ट्रिय भिडियो सम्मेलन सम्पन्न भएको छ। चिनियाँ उपप्रधानमन्त्री एवं सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य झाङ ग्वोछिङले उक्त सम्मेलनमा सहभागिता जनाई सम्बोधन गरेका थिए। झाङले सबै क्षेत्रलाई हालैका दुर्घटनाबाट गहिरो पाठ सिक्न, लुकेका जोखिमहरू पत्ता लगाउने र हटाउने प्रयासलाई तीव्र बनाउन तथा कार्यस्थल सुरक्षालाई अझ कडा र ठोस रूपमा सुनिश्चित गर्न आग्रह गरे। खानी, आतिसबाजी, खतरनाक रसायन र अन्य प्रमुख क्षेत्रमा लुकाइछिपाइ गरिने सञ्चालन र सुरक्षा अनुगमन तथ्याङ्कमा झुटा विवरण पेस गर्नेजस्ता गैरकानुनी तथा अनियमित अभ्यासविरुद्ध कडा कारबाही सुरु गर्नुपर्ने झाङले बताए।





