चिनियाँ प्रान्तहरूले उच्च मानव विकास स्तर हासिल गरेको संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन सार्वजनिक

बेइजिङ। संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) र सिङ्ह्वा विश्वविद्यालयले संयुक्त रूपमा शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले चीनका अधिकांश प्रान्तहरूले मानव विकासको उच्च स्तर हासिल गरेको देखाएको छ। प्रिफेक्चरस्तरीय सहरहरूमा उच्च वा अत्यधिक उच्च मानव विकास स्तर हासिल गर्ने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पनि प्रतिवेदनले उल्लेख गरेको छ।
‘चीनको मानव विकासको अनुगमन : चिनियाँ क्षेत्र र सहरहरूमा आर्थिक तथा सामाजिक प्रगति र वातावरणीय लागतको मूल्याङ्कन’ शीर्षकको उक्त प्रतिवेदन सिङ्ह्वा विश्वविद्यालयको चीन विकास योजना संस्थान, सिङ्ह्वा विश्वविद्यालयको चक्रीय अर्थतन्त्र संस्थान र यूएनडीपीले संयुक्त रूपमा तयार गरेका हुन्। प्रतिवेदनले विगत एक दशकमा चीनको मानव विकास प्रगतिको मुख्य चालक आर्थिक वृद्धि र शिक्षामा भएको सुधार रहेको निष्कर्ष निकालेको छ।
सिङ्ह्वा विश्वविद्यालयको चीन विकास योजना संस्थानका डीन याङ योङ्हेङले सन् २०१९ मा चीन मानव विकास प्रतिवेदन विशेष संस्करण जारी भएपछि यो प्रतिवेदन सिङ्ह्वा विश्वविद्यालय र यूएनडीपीबीच मानव विकासको क्षेत्रमा भएको सहकार्यको पछिल्लो परिणाम भएको बताए।
यूएनडीपी चीनकी रणनीतिक साझेदारी तथा नीति प्रमुख भायोलान्ते दि कानोसाले उक्त अध्ययनले विकासको भविष्यबारे व्यापक विश्वव्यापी बहसलाई प्रतिबिम्बित गरेको बताउँदै मानव विकास र वातावरणीय दिगोपनलाई अब अलग–अलग रूपमा हेर्न नसकिने र यी दुईबीच गहिरो अन्तरसम्बन्ध रहेको धारणा राखिन्।
अनुसन्धान टोलीका अनुसार प्रतिवेदनले तीन मुख्य योगदान दिएको छ। यसले मानव विकास सूचकाङ्क मापनलाई प्रिफेक्चरस्तरसम्म विस्तार गरी चीनको मानव विकास परिदृश्यको थप विस्तृत चित्र प्रस्तुत गरेको छ। साथै, कार्बन उत्सर्जन र भौतिक पदचिह्नलाई ध्यानमा राख्दै चीनमा प्रान्तीय स्तरमा पहिलो पटक ग्रहीय दबाब समायोजित मानव विकास सूचकाङ्क (पीएचडीआई) गणना गरेको छ। यसबाहेक, विगत एक दशकमा राष्ट्रिय, प्रान्तीय र प्रिफेक्चर स्तरमा मानव विकासको व्यवस्थित, बहुस्तरीय मूल्याङ्कन प्रदान गरेको छ।





