सुनचाँदीको मूल्यमा तीव्र वृद्धि

काठमाडौँ । विगत केही दिनदेखि ओरालो लाग्दै आएको सुनको मूल्य आज नेपाली बजारमा तीव्र रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो।
महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला दुई लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यो पछिल्ला दिनहरूको तुलनामा उल्लेख्य वृद्धि हो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज प्रतितोला पाँच हजार ३४५ रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ७३० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि, डलरको विनिमय दर, माग–आपूर्तिको अवस्था र लगानीकर्ताको सुरक्षित सम्पत्तितर्फको आकर्षणका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।
महासङ्घले दैनिक रूपमा निर्धारण गर्ने मूल्यका आधारमा नेपाली बजारमा सुनचाँदीको कारोबार हुने गरेको छ। मूल्यमा आएको तीव्र वृद्धिले उपभोक्ता, व्यवसायी तथा लगानीकर्तालाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।





