१२ असार २०८३, शुक्रबार

दक्षिण अफ्रिका र ब्राजिलस्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्वकोषाध्यक्ष थापाको आग्रह

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वकोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णयप्रति दुःख व्यक्त गर्दै उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत ती दुवै दूतावास बन्द गर्ने घोषणा गरेको थियो।

हाल नाइजेरियाको लेगोसमा बसोबास गर्दै आएका थापाले जारी गरेको प्रेस नोटमा ती दूतावासलाई दक्षिण–दक्षिण सहकार्य, व्यापार, लगानी तथा आर्थिक अवसर विस्तारका केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। उनले दूतावासहरू खर्चको केन्द्र मात्र नभई आय तथा आर्थिक कूटनीतिको माध्यम बन्न सक्ने उल्लेख गर्दै वर्तमान समयमा नेपाली कूटनीति आर्थिक समृद्धिमुखी हुनुपर्ने धारणा राखेका छन्।

थापाका अनुसार दक्षिण अफ्रिका र ब्राजिल दुवै देश तीव्र आर्थिक विकास गरिरहेका मुलुक हुन्। साथै, ती क्रमशः अफ्रिका र दक्षिण अमेरिका महादेशका महत्त्वपूर्ण आर्थिक केन्द्रका रूपमा स्थापित हुँदै गएका छन्। यी क्षेत्रमा नेपाली डायस्पोराको उपस्थिति पनि विस्तार हुँदै गएको र उनीहरूले नेपाल सरकारको थप उपस्थिति तथा सेवा आवश्यक रहेको महसुस गरिरहेको उनले बताए।

‘अफ्रिका र दक्षिण अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका धेरै समस्या अझै पनि राज्यको पहुँचभन्दा बाहिर छन्। यस्तो अवस्थामा त्यहाँ रहेका दूतावाससमेत बन्द हुनु झन् दुःखद विषय हो,’ थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ। उनले सरकारले ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावासलाई दक्षिण–दक्षिण सम्बन्ध विस्तार, उदाउँदो शक्ति समूह ब्रिक्स (बीआरआईसीएस) सँगको सहकार्य, प्रविधि हस्तान्तरण, व्यापार तथा लगानी प्रवर्द्धनका अवसरसँग जोडेर अगाडि बढाउनुपर्ने बताए। सरकारले उक्त निर्णय पुनर्विचार गरी दूतावासहरूलाई नेपालको आर्थिक तथा कूटनीतिक हित प्रवर्द्धन गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button