नेपाल भ्रमणमा अमेरिकी उपविदेशमन्त्री रोजर्स : एसेन्ट समिटलाई सम्बोधन गर्ने, पाटन दरबार स्क्वायर र सात सम्पदा स्थलको पनि भ्रमण गर्ने

काठमाडौँ। अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) सारा बी. रोजर्स नेपालको तीनदिने भ्रमणका लागि आइपुगेकी छन्। भ्रमणका क्रममा उनले शनिबार काठमाडौँमा आयोजित ‘एसेन्ट समिट २०२६’ मा उद्घाटन मुख्य मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
उपविदेशमन्त्री रोजर्सले भ्रमणका क्रममा नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्वसहभागीहरूसँग भेटघाट गर्नेछिन्। सोही अवसरमा उनले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको वकालत गर्ने अमेरिकी दूतावासले जनाएको छ।
उपविदेशमन्त्री रोजर्सले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) अन्तर्गतका सातवटा सम्पदा स्थलहरूको पनि भ्रमण गर्नेछिन्। यस भ्रमणले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको सहयोगलाई दर्शाउनुका साथै नेपाली जनजीवन, धार्मिक परम्परा र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका यस्ता स्थलहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतालाई जोड दिने दूतावासले जनाएको छ।
यो भ्रमण प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता अमेरिकाबाट हुने तेस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि वैशाख ८ गते अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र वैशाख १७ गते राष्ट्रपतिका विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण गरिसकेका छन्। उपविदेशमन्त्री रोजर्सको भ्रमणले नेपाल र अमेरिकाबीचको सार्वजनिक कूटनीति, सांस्कृतिक सम्पदा संरक्षण र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।





