१२ असार २०८३, शुक्रबार

टिकटकर तुल्सी अधिकारी इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ

ललितपुर। टिकटकर तुल्सी (तुल्सा) अधिकारीलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले अधिकारीलाई पक्राउ गरिएको पुष्टि गरे।

‘ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा अदालतमा पहिल्यै मुद्दा दर्ता भएको थियो,’ एसपी मिश्रले भने, ‘रेड नोटिस जारी भएको अवस्थामा थाइल्यान्डमा पक्राउ परेपछि काठमाडौंमा ल्याइएको हो।’

अधिकारीसहित १० जनाविरुद्ध सहमतिको सम्बन्धलाई देखाएर बलात्कार मुद्दा दायर गर्ने भन्दै धम्क्याएर ६ करोड ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा २०८२ चैतमा मुद्दा दायर भएको थियो। प्रहरीले अनुसन्धान गरिरहेका बेलासमेत उनले टिकटकमार्फत आफ्ना धारणाहरू सार्वजनिक गरिरहेकी थिइन्। अनुसन्धानमा सहयोग गर्ने बताए पनि थाइल्यान्डमा रहेका बेला उनले सामाजिक सञ्जालमार्फत भ्रम छरेको अनुसन्धान अधिकृतहरूले बताएका थिए।

अधिकारीले नेपालमा रहेका बेला प्रहरीले आफूलाई नबोलाएको तर, विदेश गएपछि पक्राउ पुर्जी जारी गरेको भन्दै प्रहरीको भूमिकामाथि समेत प्रश्न गरेकी थिइन्। उनीविरुद्ध कुमार चिमोरिया नामक व्यक्तिले २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए। प्रारम्भमा ठगीको विषयमा मात्र अनुसन्धान सुरु भए पनि बैंक विवरण जाँच गर्दा अस्वाभाविक कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button