१२ असार २०८३, शुक्रबार

आँखामा खुर्सानीको धुलो छरेर लुटपाट गर्ने पूर्वप्रहरी जवान पक्राउ

काठमाडौँ। आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा एक पूर्वप्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ सिमली गाउँ बस्ने ४० वर्षीय गणेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं महानगरपालिका–१६ सुकेधारास्थित एक व्यक्तिको आँखामा खुर्सानीको धुलो फालेर सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार भएका कार्कीलाई खोज्ने क्रममा जडीबुटीस्थित मनोहरा खोला करिडोरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउका क्रममा कार्कीले प्रहरीको आँखामा समेत खुर्सानीको धुलो हाल्न खोजेपछि प्रहरीले खुट्टामा गोली हानेर उनलाई नियन्त्रणमा लिएको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कार्की सन् २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए। २०६४ सालमा जागिर छोडेका उनी त्यसयता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेका उनी २०७८ सालमा रिहा भएका थिए। सन् २०७९ मा डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय भई जेल चलान भएका कार्की जेन–जी प्रदर्शनका क्रममा कारागारबाट फरार भएका थिए। त्यसपछि पनि अपराधमा संलग्न रहँदै आएका उनलाई गएराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button