प्रधानमन्त्री शाहको स्वीकारोक्ति : नेपालले पनि भारतको सीमा मिचेको रहेछ, बेलायतसँग पनि छलफल गरियो

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा उनले दुई देशले एकअर्काको सीमा अतिक्रमण गरेको खुलासा गरेका हुन्।
प्रधानमन्त्री शाहले आफू पदभार ग्रहण गरेपछि मात्र नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताए। ‘मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, नेपालले पनि भारतको सीमा मिचेको रहेछ,’ उनले भने।
प्रधानमन्त्री शाहले लिम्पियाधुरा र लिपुलेक सीमा विवाद समाधानका लागि सरकारले दुवै देशसँग संवाद गरिरहेको जानकारी दिँदै नेपाल सरकारले भारत सरकारलाई आधिकारिक रूपमा कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफसमेत आइसकेको बताए। भारतबाट प्राप्त जवाफमा दुवै देशका इतिहासविद्, सर्भेयर र भूमिसम्बन्धी जानकारहरूलाई राखेर ‘टेबल टक’ मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत छलफल गरिएको बताए। ‘यस सम्बन्धमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। त्यो जवाफमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविद्हरू राखेर, आफ्नो सर्भेयरहरू राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ,’ उनले भने।
उनले थपे, ‘यस सम्बन्धमा हामीले भारत र चाइनालाई मात्रै नभएर, इङ्गल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं। उहाँहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि, यसमा चाहिँ इङ्गल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।’
प्रधानमन्त्री शाहको यो पहिलो संसद् सम्बोधन हो। पदभार ग्रहण गरेको करिब साढे दुई महिनापछि उनी प्रतिनिधिसभामा उपस्थित भएका हुन्। उनको अनुपस्थितिका कारण विपक्षी दलहरूले संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएका थिए। आइतबारको बैठकमा पनि सुरुमा विपक्षीले अवरोध गरे पनि पछि सभामुखले प्रधानमन्त्रीलाई बोल्ने समय दिएका थिए। उनको यो स्वीकारोक्ति र बेलायतसँग छलफलको खुलासा नेपालको कूटनीतिक वृत्तमा नयाँ बहसको विषय बनेको छ।





