‘नेपालले पनि भारतको सीमा मिचेकाे रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए।
प्रधानमन्त्री शाहले भनेका थिए, ‘मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’
उक्त अभिव्यक्तिप्रति कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै सदनलाई थप जानकारी दिन माग गरेकी छन्। उनले नेपालले कहाँ–कहाँ भारतीय सीमा मिचेको छ, त्यसबारे जानकारी दिन अन्यथा गलत अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।
‘यस विषयमा थप जानकारी गराउन आग्रह गर्दछु। अन्यथा गलत अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउँछु,’ प्रमुख सचेतक थापाले भनिन्। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले नेपालको सीमा सार्वभौमिकताको विषयलाई गम्भीर रूपमा प्रभावित पार्न सक्ने भन्दै कांग्रेसले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरेको छ।





