१२ असार २०८३, शुक्रबार

तीन सांसदलाई सभामुख अर्यालको चेतावनी, विपक्षीले जनाए विरोध

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले तीन सांसदले मर्यादाविपरीत गतिविधि गरेको भन्दै चेतावनी दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र सोही पार्टीका आरएन राईलाई नामै तोकेर चेतावनी दिएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि एमाले प्रमुख सचेतक महरले समय माग गरेका थिए। समय नदिइएपछि महर र सभामुख अर्यालबीच केहीबेर अनौपचारिक रूपमा प्रश्नोत्तर चलेको थियो। सोही क्रममा सभामुख अर्यालले तीन सांसदले मर्यादाविपरीत काम गरेको भन्दै चेतावनी दिएका हुन्।

‘सदनमा देखाएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ। आफ्नो भाषा सुधार गर्न ध्यानाकर्षण गराउँछु। मर्यादित हुन माननीय सदस्यहरूलाई गम्भीर ध्यानाकर्षण गराउँछु,’ सभामुख अर्यालले भने। सभामुखको यो चेतावनीपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले मर्यादाविपरीत काम गरेको भन्दै चेतावनी दिए पनि के कस्तो गतिविधि गरेको थियो भन्नेबारे भने खुलाएका छैनन्। आइतबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा विपक्षी दलहरूले पटक–पटक अवरोध गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button