५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट धेरै होइन : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ५० युनिटभन्दा बढी विद्युत खपत भएमा लगाइने ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) एकदमै धेरै नरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीको प्रश्नको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा बजेट प्रस्तुत गर्दै आगामी साउनदेखि ५० युनिटभन्दा बढी विद्युत खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाइने जानकारी दिएका थिए। उक्त निर्णयको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री शाहले आइतबार सदनमा त्यो दर धेरै नभएको जवाफ दिएका हुन्।
‘५० युनिटभन्दा माथि चाहिँ ५ प्रतिशत भ्याट लाउने कुरा, जुन अस्ति अर्थमन्त्रीज्यूले गर्नुभएको छ, त्यो एकदमै धेरै रकम होइन। १०० रुपैयाँमा ५ रुपैयाँ हो,’ प्रधानमन्त्री शाहले भने। उनले उक्त भ्याटबाट उठ्ने रकम विद्युतीय ट्रान्सफर्मर वृद्धि गर्न, सबस्टेसन वृद्धि गर्न तथा तारहरू वृद्धि गर्न प्रयोग गरिने र त्यसपछि मात्र विद्युतीय युगमा पुग्न सकिने बताए।
प्रधानमन्त्री शाहले अहिले नै नेपाल विद्युतीय युगमा पुग्ने अवस्थामा नरहेको पनि बताए। ‘अहिले नै विद्युतीय युगमा पुग्न सकिने अवस्था छैन। साँच्चै नै अहिले नै धेरैभर सबै घरमा इन्डक्सनबाट खाना पकाउने हो भने ट्रान्सफर्मर पड्किन्छन्, सबस्टेसन पड्किन्छन्,’ उनले भने। प्रधानमन्त्री शाहको यो जवाफले विद्युत महसुलमा भ्याट लगाउने सरकारी निर्णयको बचाउ गरेको छ। यसअघि उपभोक्ता अधिकारकर्मी र विपक्षी दलहरूले उक्त निर्णयको विरोध गर्दै आएका थिए।





