प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाफ दिएलगत्तै संसद्बाट बाहिरिए

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएलगत्तै संसद्बाट बाहिरिएका छन्।


विपक्षी दलहरूले प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध गरिरहेका बेला उनी आइतबार प्रतिनिधिसभामा उपस्थित भएका थिए। उनले सबै दलका एक–एक जना सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए। तर, प्रश्नोत्तर सकिएलगत्तै उनी सदनबाट बाहिरिए। विपक्षी सांसदहरूले थप प्रश्न सोध्न र जवाफ माग गर्न खोज्दा प्रधानमन्त्री निस्किसकेका थिए।


प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको करिब साढे दुई महिनापछि पहिलो पटक संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिएका हुन्। यसअघि उनको अनुपस्थितिका कारण विपक्षी दलहरूले संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएका थिए। आइतबारको बैठकमा पनि सुरुमा विपक्षीले अवरोध गरे पनि पछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई बोल्ने समय दिएका थिए। प्रश्नको जवाफ दिएर तुरुन्तै बाहिरिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीले सदनमा बसेर थप जवाफ दिनुपर्ने माग गरेका छन्।





