प्रश्न नसुनेको भन्दै प्रधानमन्त्री बाहिरिएपछि एमाले नेता महर र श्रम संस्कृतिका राई असन्तुष्ट

काठमाडौँ। प्रतिनिधिसभामा आफ्नो प्रश्न नसुनेको भन्दै एमाले संसदीय दलका नेता ऐन महर र श्रम संस्कृति पार्टीका नेता ध्रुव राईले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले केही सांसदको प्रश्नको जवाफ दिएर सदनबाट निस्किसकेपछि उनीहरूले यस्तो असन्तुष्टि जनाएका हुन्।
प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता महरले माइकमा बोल्न चाहेको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग माइक माग गरेका थिए। त्यसैगरी, श्रम संस्कृति पार्टीका नेता राईले पनि उठेर आफूलाई बोल्न दिनुपर्ने माग उठाएका थिए। तर, उनीहरूको माग सम्बोधन नहुँदै प्रधानमन्त्री शाह सदनबाट बाहिरिइसकेका थिए। प्रधानमन्त्रीको बहिर्गमनपछि दुवै नेताले सभामुखसँग असन्तुष्टि जनाउँदै आफूहरूलाई प्रश्न सोध्ने मौका नदिइएको गुनासो गरेका छन्। विपक्षी दलका सांसदहरूले आइतबारको बैठकमा प्रधानमन्त्रीले सीमित प्रश्नको मात्र जवाफ दिएर बाहिरिएको भन्दै थप प्रश्न सोध्ने अवसर नपाएकोमा असन्तुष्टि जनाएका थिए। यसअघि पनि विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन माग गर्दै बैठक अवरुद्ध गर्दै आएका थिए। सोमबारको बैठकमा पनि यो विषय उठ्ने र विपक्षीले अवरोध जारी राख्ने सम्भावना रहेको छ।





