१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको’ अभिव्यक्ति गैरजिम्मेवार : कमल थापा

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन्।

थापाले केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा भए पनि नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको नभएको स्पष्ट पारेका छन्। ‘नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ। यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ; तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ,’ उनले भनेका छन्, ‘तर, मेरो विचारमा प्रधानमन्त्रीको यो भनाइ अतिरञ्जित र गलत छ।’

पूर्वउपप्रधानमन्त्री थापाले नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण नगर्ने र अरूले आफ्नो भूमि अतिक्रमण गरेको पनि सहन नसक्ने बताए। ‘देश सानो–ठूलो हुन सक्छ, तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन,’ उनले भने।

भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भइरहेका बेला प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पूर्णतः गैरजिम्मेवारपूर्ण रहेको उनको भनाइ छ। ‘म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ,’ थापाले भनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button