राप्रपा नेता राणाद्वारा नयाँ अभियानको घोषणा, ‘विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने’ आह्वान

काठमाडौं । राप्रपा नेता धवलशमशेर राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छासहित नयाँ अभियानको घोषणा गरेका छन्। राप्रपाका असन्तुष्ट नेताहरूसँग आइतबार काठमाडौंको एक होटलमा छलफल गरेपछि राणाले विज्ञप्ति जारी गर्दै आगामी बाटो तय गर्ने निश्चय गरेको जानकारी गराएका हुन्। यद्यपि, विज्ञप्तिमा उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख गरेका छैनन्।
राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु।’

उनले राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरे पनि त्यो सफल नभएको स्वीकार गरेका छन्। ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौं। तर, विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाले भनेका छन्।
उनले राप्रपामा आबद्ध साथीहरूलाई उक्त बाटो सही लागे त्यतै रहन शुभकामना दिँदै कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन्। ‘होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई हार्दिक आह्वान गर्दछु,’ राणाले विज्ञप्तिमा भनेका छन्।





