प्रधानमन्त्रीको ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति विवादमा, भारतीय सञ्चारमाध्यमले पनि चासो राखे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति विवादमा तानिएको छ। देशभित्र चर्को आलोचनासँगै यस विषयमा भारतीय सञ्चारमाध्यमले समेत चासो राखेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा पहिलो पटक सम्बोधन गर्दै कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनको उपस्थितिबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा उक्त टिप्पणी गरेका थिए। ‘तपाईंहरूलाई यो सुनेर अचम्म लाग्न सक्छ, मैले पनि भर्खर थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ। अब दुवैतर्फको विवाद संवादबाट हल गरिन्छ,’ उनले भनेका थिए।
एक सार्वभौम मुलुकको प्रधानमन्त्रीले संसद्मा रेकर्ड हुने गरी अर्को देशको सीमा मिचेको धारणा राखेपछि चौतर्फी प्रश्न उब्जिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको हो भनी स्पष्ट पारिनुपर्ने माग राखेकी छन्। ‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्नुभयो। नेपालले कहाँ मिचेको छ, त्यो जानकारी पाउनुपर्यो,’ उनले भनिन्।
नेकपा सांसद रमेश मल्लले यसलाई निकै गम्भीर विषय भन्दै संसद्को रेकर्डबाटै हटाउन माग गरेका छन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठ र भारतका लागि पूर्व नेपाली राजदूत निलाम्बर आचार्यले नेपालले भारतको सीमा नमिचेको प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका छन्।
प्रधानमन्त्रीको यस अभिव्यक्तिले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको छ। नवभारत टाइम्सले ‘नेपालले पनि भारतीय भूमि कब्जा गर्यो, संसद्मा बालेन शाहको पहिलो भाषण’ शीर्षकमा समाचार प्रकाशित गर्दै भारतसँग कूटनीतिक वार्तामार्फत सीमा विवाद हल गर्ने कुरामा प्रधानमन्त्रीले जोड दिएको उल्लेख गरेको छ। समाचारमा प्रधानमन्त्रीको भनाइ जस्ताको तस्तै उद्धृत गरिएको छ।
प्रधानमन्त्री शाहले इतिहासकार, सर्वेक्षक र विज्ञहरूको टोली गठन गरी संवादमार्फत सीमा समस्या समाधान खोजिने बताएको तथा सीमा विवादबारे भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग पनि कुरा भइरहेको दाबीलाई नवभारत टाइम्सले विशेष महत्त्व दिएको छ।





