११ असार २०८३, बिहीबार

बजेटमा सल्यानको नाम नै नसुनिएको भन्दै सांसद मल्लको गुनासो, ‘मदन भण्डारी लोकमार्ग १२ अर्बको दायित्व, बजेट साढे १ अर्ब मात्र’

काठमाडौं । सल्यानका सांसद रमेश मल्लले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सल्यान जिल्लाको नाम नै नसुनिएको गुनासो गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले बजेट वक्तव्य शब्दकोशका सयौं जार्गन र भौतिक तथा डिजिटल विकासका आकर्षक शब्दहरूले भरिएको तर सल्यानी जनताले आफ्नो जिल्लाको नाम कतै नसुनेको बताए।

‘सल्यान भएर जाने एक मात्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना मदन भण्डारी लोकमार्ग १२ अर्ब रुपैयाँभन्दा बढी दायित्व बोकेर बसेको छ। तर, विनियोजित रकम भने १ अर्ब ४६ करोड रुपैयाँ मात्र छ,’ सांसद मल्लले भने, ‘यस्ता वित्तीय अराजकताको नमुना प्रदर्शन हुँदा हामी टेबल ठोकेर खुसी हुने हो कि दुःखी हुने हो?’

उनले राप्ती लोकमार्गलगायतका सडक पूर्वाधारको स्तरोन्नति, सल्यानका करिब २० प्रतिशत गाउँमा बाँकी विद्युतीकरण, शिक्षा, स्वास्थ्य र सञ्चार सेवा, भवन निर्माण, खानेपानी, सिँचाइ, कृषि, पर्यटन, युवा तथा खेलकुद, भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण, उत्पीडित समुदायको उत्थान र वन तथा वातावरणसँग सम्बन्धित थुप्रै योजनाहरू आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयहरूमा पुगेको जानकारी गराए। ‘यी दर्जनौं योजनाहरू बजेटविहीन भएर थन्किने अवस्था नबनोस्,’ सांसद मल्लले भने, ‘सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button