११ असार २०८३, बिहीबार

प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको’ अभिव्यक्तिप्रति मिश्रित प्रतिक्रिया, राष्ट्रको नाममा सम्बोधन गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा पहिलो पटक सम्बोधन गर्दै भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि यसबारे मिश्रित प्रतिक्रिया आएको छ। कसैले यसलाई सत्य कुरा संसद्मा राखेको भन्दै प्रशंसा गरेका छन् भने कसैले अत्यन्त गम्भीर र असामान्य भन्दै आपत्ति जनाएका छन्।

पहिलो पार्टी नेपालका संयोजक गोविन्द बोहरा ‘ब्रह्माण्ड’ ले प्रधानमन्त्रीलाई राष्ट्रको नाममा सम्बोधन गर्न अपिल गरेका छन्। उनले प्रधानमन्त्रीको पहिलो संसदीय सम्बोधन भएकाले बोलीमा त्रुटि भएको हुन सक्ने उल्लेख गर्दै तत्काल संसद्बाटै राष्ट्रका नाममा विशेष सम्बोधन गरी भनाइ सच्याउन आग्रह गरेका छन्। ‘सम्भवतः प्रधानमन्त्रीको संसद्मा पहिलो सम्बोधन भएर पनि हुन सक्छ, उहाँको बोलीमा त्रुटि भएको हुनुपर्छ। राष्ट्र र राष्ट्रियता अनि कूटनीतिक विषयमा भूलवश हुने त्रुटि सच्याउन जसले कोसिस गर्छ, ऊ वास्तवमै महान् हुन्छ,’ उनले भनेका छन्। तीन पटक प्रधानमन्त्री बनिसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पहिलो कार्यकालमा संसदीय अभ्यास नबुझ्दा काम गर्न नजानेको र पछि सिक्दै गएको बताएको स्मरण गराउँदै बोहराले प्रधानमन्त्री शाहले पनि कमीकमजोरी सच्याउने अपेक्षा राखेका छन्।

यता, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले भने प्रधानमन्त्रीको अभिव्यक्तिलाई अत्यन्त असामान्य र गम्भीर भन्दै कडा आपत्ति जनाएका छन्। ‘आजसम्मका कुनै पनि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन,’ उनले भनेका छन्। आचार्यले यस अभिव्यक्तिको सबैभन्दा ठूलो असर नेपाली भूमि अतिक्रमणलाई कुनै न कुनै रूपमा वैधता दिनु रहेको बताए। ‘सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने देखाउँछ,’ उनले भने।

यसैबीच, पत्रकार पर्शुराम काफ्लेले भने प्रधानमन्त्रीको भनाइलाई समर्थन गरेका छन्। उनका अनुसार नेपाल–भारत सीमाको दशगजा तथा थप जमिनमा दुवै देशबाट क्रस होल्डिङ भएको छ। ‘सुरक्षा निकाय र सरकारी निकायलाई यो तथ्य थाहा छ। अरू सरकारले ढाँटे, प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सार्वभौम संसद्लाई सही कुरा बताए,’ काफ्लेले भनेका छन्। उनले सुस्ता र कालापानीको विषय बेग्लै भएको र यीबाहेकका स्थानमा दुवैतर्फबाट जमिनको अतिक्रमण भएको दाबी गरे।

प्रधानमन्त्री शाहले आइतबार संसद्मा भनेका थिए, ‘तपाईंहरूलाई यो सुनेर अचम्म लाग्न सक्छ, मैले पनि भर्खर थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ। अब दुवैतर्फको विवाद संवादबाट हल गरिन्छ।’ यस अभिव्यक्तिपछि सीमाविद्, पूर्वकूटनीतिज्ञ, सांसद तथा आम सर्वसाधारणबाट मिश्रित प्रतिक्रिया आइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button