११ असार २०८३, बिहीबार

‘बोल्नुअघि दर्जन पटक सोच्नुस्’ : प्रधानमन्त्रीलाई कांग्रेस उपसभापति शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई बोल्नुअघि दर्जनौं पटक सोच्न आग्रह गरेका छन्। उनले संवेदनशील कूटनीतिक प्रश्नमा प्रधानमन्त्री संयम र परिपक्व हुन जरुरी रहेको बताए।

‘उहाँ देशको प्रधानमन्त्री हो, बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ, अझ संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,’ कान्तिपुरसँगको कुराकानीमा शर्माले भने, ‘हामी जान्न चाहन्छौं, उहाँको शब्दले सरकार र रास्वपाको प्रतिनिधित्व गर्छ कि गर्दैन?’

प्रतिनिधिसभामा आइतबार श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए। तर, त्यसक्रममा उनले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

प्रधानमन्त्री शाहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिए। सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्रराष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुंग्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपाले जवाफ माग गरेका छन्। नेपालले कहाँ भारतको जग्गा मिचेको छ भन्ने जानकारी दुवै दलले संसद्बाटै माग गरेका हुन्। नेकपाका सांसद रमेश मल्लले संसद्को रोस्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए।

कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेकी छन्। ‘नेपाल–भारत सीमा विवाद छन्। तर, प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिच्यो भन्नुभयो। कहाँनेर मिचिएको हो छिटोभन्दा छिटो अवगत गराउन पर्यो। यो कुन विषय हो? यो गम्भीर र आपत्तिजनक विषय हो। प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु,’ थापाले भनिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button