स्वयम्भुमा रुसी सहयोगमा निःशुल्क अन्तःस्राव शिविर, चार सयभन्दा बढी लाभान्वित

काठमाडौँ । नेपालमा सक्रिय पूर्व सोभियत तथा रुसी विश्वविद्यालयका स्नातकहरूको संस्था ‘फ्रेन्ड्स अफ आरयूडीबी’ ले स्वयम्भुस्थित अस्पतालमा निःशुल्क अन्तःस्राव (इन्डोक्राइनोलोजी) स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दुई दिने उक्त शिविरमा काठमाडौंका चार सयभन्दा बढी बासिन्दाले सेवा लिएका छन्।


संस्थाका अनुसार शिविरमा थाइराइड, मधुमेहलगायत हर्मोनसम्बन्धी रोगहरूको परीक्षण तथा परामर्श निःशुल्क प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत उपलब्ध गराएको जनाइएको छ।

पूर्व सोभियत तथा रुसी विश्वविद्यालयमा अध्ययन गरेका नेपाली स्नातकहरूले गठन गरेका सामाजिक संस्थाहरू नेपालमा बलियो र एकताबद्ध रूपमा सक्रिय रहेको र तिनले समयसमयमा यस्ता परोपकारी कार्यहरू गर्दै आएको बताइएको छ। आयोजक संस्थाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।





