१ असार २०८३, सोमबार

अवैध उत्खनन रोक्न बाँके प्रहरीको सक्रियता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि निगरानी र अनुगमनलाई तीव्र बनाएको छ।

राप्ती नदीसहित जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट अवैध रूपमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन र ढुवानी हुने गरेको जनगुनासो बढेपछि प्रहरीले नियन्त्रण अभियानलाई निरन्तरता दिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न प्रहरी नियमित रूपमा अनुगमनमा खटिँदै आएको छ। शनिबार मात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध उत्खनन तथा ढुवानीमा प्रयोग भएका तीन सवारीसाधन नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए।

प्रहरीका अनुसार नदीजन्य पदार्थको अवैध उत्खननले प्राकृतिक स्रोतको क्षति, नदी प्रणालीमा असर, बस्ती तथा खेतीयोग्य जमिनमा जोखिम र वातावरणीय असन्तुलन निम्त्याउने भएकाले यस्ता गतिविधि रोक्न निगरानी बढाइएको हो।

प्रहरी उपरीक्षक जिसीले प्राकृतिक स्रोतको संरक्षण र कानुनविपरीत हुने उत्खनन नियन्त्रणका लागि जनगुनासोका आधारमा मात्र नभई नियमित गस्ती, अनुगमन र सूचना सङ्कलनमार्फत पनि कारबाही अघि बढाइने बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेले नदी तथा खोलाबाट हुने अवैध उत्खनन र ढुवानीबारे जानकारी पाए तत्काल प्रहरीलाई सूचना दिन स्थानीयवासीलाई आग्रहसमेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button