११ असार २०८३, बिहीबार

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। पार्टीले प्रधानमन्त्री शाहको भनाइलाई आपत्तिजनक, खेदजनक र सन्देहास्पद भन्दै त्यसको भर्त्सना गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसदमा प्रतिनिधिसभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा “पहिलोपटक नेपालले पनि भारतको सीमा मिचेको थाहा पाएँ” भन्ने आशयको धारणा व्यक्त गरेको भन्दै त्यसप्रति कडा असहमति जनाइएको छ।

विज्ञप्तिमा भारतले नेपालको विभिन्न क्षेत्रमा सीमा अतिक्रमण गर्दै आएको आरोप लगाइएको छ। पार्टीले कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका क्षेत्रमा भारतबाट सीमा अतिक्रमण भएको दाबी गर्दै यस्ता विषयमा नेपालका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन तथा सचेत नागरिकले लामो समयदेखि आवाज उठाउँदै आएको उल्लेख गरेको छ।

पार्टीले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयमा गम्भीर, तथ्यपरक र संवेदनशील अभिव्यक्ति दिनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा प्रधानमन्त्री शाहको भनाइले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनताप्रतिको दृष्टिकोणमा प्रश्न उठाएको टिप्पणी गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई “गैरजिम्मेवार र राष्ट्रघाती” भन्दै त्यसविरुद्ध सम्पूर्ण स्वाधीनताप्रेमी नागरिक, लोकतान्त्रिक शक्ति र राजनीतिक दलहरू एकजुट हुनुपर्ने आह्वानसमेत गरेको छ।

विज्ञप्तिमा सीमा अतिक्रमणका विषयमा सरकार गम्भीर हुनुपर्ने, राष्ट्रिय स्वाधीनताको पक्षमा स्पष्ट नीति लिनुपर्ने र यस्ता संवेदनशील विषयमा संसद तथा जनतासमक्ष जिम्मेवार ढङ्गले धारणा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका तर्फबाट जारी विज्ञप्तिमा संयोजक लोकनारायण सुवेदीले हस्ताक्षर गरेका छन्। विज्ञप्ति २०८३ जेठ १७ गते जारी गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button