११ असार २०८३, बिहीबार

कूटनीतिक नोटबारे संसदमा जानकारी दिन प्रधानमन्त्रीलाई ब्रह्माण्डकाे आग्रह

काठमाडौं । पहिलो पार्टी नेपालका संयोजक गोविन्द बोहरा “ब्रह्माण्ड” ले प्रधानमन्त्री बालेन्द्र शाहलाई चीन र बेलायतबाट आएको कूटनीतिक नोटको जवाफबारे संसदमार्फत जानकारी गराउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले संसदमा सम्बोधन गर्ने क्रममा भारतबाट आएको कूटनीतिक नोटको जवाफबारे जानकारी गराएको उल्लेख गर्दै बोहराले नेपालले चीन र बेलायतलाई पनि कूटनीतिक नोट पठाएको भए ती देशबाट प्राप्त जवाफबारे पनि सार्वभौम नेपाली जनतालाई जानकारी गराउनुपर्ने बताएका छन्।

बोहराले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै भारतको जवाफ संसदमार्फत सार्वजनिक गरिएकोमा धन्यवाद दिएका छन्। उनले चीन र बेलायत नेपालको अनन्य मित्र राष्ट्र भएकाले ती देशबाट आएको जवाफ पनि संसदमा उपस्थित भएर जानकारी गराइए नेपाली जनता आभारी हुने उल्लेख गरेका छन्।

यसैबीच, बोहराले प्रधानमन्त्री शाहले संसदमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण गराएका छन्। उनका अनुसार प्रधानमन्त्री शाहले प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको भूमि मात्र मिचेको छैन, नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको विषय गम्भीर रूपमा सार्वजनिक बहसमा आएको छ।

बोहराले उक्त अभिव्यक्ति प्रधानमन्त्रीको बोलिमा भएको त्रुटि हुन सक्ने भन्दै राष्ट्र, राष्ट्रियता र कूटनीतिक विषयमा भूलवश भएका कमजोरी सच्याउनु जिम्मेवार नेतृत्वको गुण भएको बताएका छन्। उनले संवेदनशील राष्ट्रिय विषयमा देखिएका कमजोरी सच्याएर जनतालाई स्पष्ट पार्न सरकार प्रमुखले पहल गर्नुपर्ने धारणा राखेका छन्।

उनले प्रधानमन्त्री शाहको संसदीय अनुभव प्रारम्भिक चरणमा रहेकाले पहिलो सम्बोधनका क्रममा कमजोरी देखिएको हुन सक्ने उल्लेख गरेका छन्। यस्तै सन्दर्भमा उनले विगतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले पनि संसदीय अभ्यास र शासन सञ्चालनबारे अनुभवबाट सिक्दै गएको स्वीकार गरेको उदाहरण प्रस्तुत गरेका छन्।

बोहराले प्रधानमन्त्री शाहले संसदबाटै राष्ट्रका नाममा विशेष सम्बोधन गरी आफ्ना भनाइ स्पष्ट र आवश्यक परे सच्याउनुपर्ने माग गरेका छन्। उनले प्रधानमन्त्रीले आफूलाई सरकार प्रमुख बनाउन सहयोग गर्ने नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्दै पाँच वर्षे सरकारी उद्देश्य र प्राथमिकता स्पष्ट पार्नुपर्ने बताएका छन्।

पहिलो पार्टी नेपालका संयोजक बोहराले सरकार प्रमुखबाट राष्ट्रका नाममा सम्बोधन भएमा आम नेपाली नागरिकका साथै छिमेकी राष्ट्रहरूलाई पनि आश्वस्त पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले राष्ट्रिय स्वाधीनता, कूटनीतिक संवेदनशीलता र छिमेकी सम्बन्धजस्ता विषयमा स्पष्ट, तथ्यपरक र संयमित सरकारी धारणा आवश्यक रहेको भन्दै प्रधानमन्त्री शाहलाई तत्काल सम्बोधन गर्न अपिल गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button