छाती दुखाइलाई कहिल्यै नगर्नुहोस् हेलचेक्र्याइँ, यी सात सङ्केत देखिए तुरुन्तै जानुहोस् अस्पताल

राष्ट्रिय स्वास्थ्य आयोगका एक विशेषज्ञका अनुसार छाती दुखाइ विभिन्न रोगको लक्षण हुन सक्छ। यसले निम्त्याउन सक्ने उच्च जोखिमका रोगमा तीव्र मुटुको धमनी अवरोध (हार्ट अट्याक) र महाधमनी विच्छेदन (एओर्टिक डिसेक्सन) जस्ता जटिल अवस्था पर्दछन्। यी रोग लागेमा जीवनलाई नै खतरा हुन सक्ने भएकाले विशेषज्ञले गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

उच्च जोखिमयुक्त छाती दुखाइका केही विशेषताहरू यसप्रकार छन्:
१. छाती दुखाइको पीडा मध्यमभन्दा माथि भई असह्य भएर अहिले गरिरहेको काम वा गतिविधि नै रोक्नुपर्ने अवस्था आउनु।
२. लामो समयसम्म दुखाइ रहिरहनु, जस्तै: लगातार २० मिनेटभन्दा बढी दुखाइ भइरहेमा थप सचेत हुनुपर्ने।
३. आराम गरिरहेको वा हल्का गतिविधि गरिरहेको अवस्थामा छाती दुख्नु, जस्तै: किताब पढ्दा, टेलिभिजन हेर्दा, मोबाइल चलाउँदा वा निद्रामै छाती दुखेर बिउँझिनु।
४. पछिल्लो दुई महिनायता छाती दुखाइ बारम्बार हुनुका साथै क्रमशः झन् चर्किंदै जानु र विशेषगरी एक–दुई दिनमै पटक–पटक दुखेपछि केही समय दुखाइ हराए पनि जतिसक्दो चाँडो उपचार गराउनुपर्ने।
५. छाती दुखाइसँगै घाँटी, बङ्गारा, हात, कुम, ढाडजस्ता शरीरका अन्य भागमा पनि प्रभाव पर्नु।
६. छाती दुखाइसँगसँगै श्वासप्रश्वासमा कठिनाइ, अत्यधिक थकान, पसिना आउने, वाकवाकी लाग्ने वा केही क्षण होस हराउने जस्ता लक्षण देखापर्दा समयमै अस्पताल नपुगे गम्भीर परिणाम भोग्नुपर्ने।
७. एक्कासि छाती र ढाड दुवैतिर छुरा रोपेजस्तो तीव्र पीडा हुनु र सोही समयमा कहिलेकाहीँ पेट र खुट्टासम्म दुखाइ फैलिने अवस्था देखिएमा तुरुन्तै अस्पताल गई जाँच गराउनुपर्ने, ढिलाइ गरे ज्यानै जोखिममा पर्न सक्ने।
विशेषज्ञले जोडदार रूपमा भनेका छन्: माथि उल्लेखित अवस्था देखापरेमा तुरुन्तै अस्पताल गई उपचार गराउनुपर्छ। आराम गरेपछि निको हुन्छ भन्ठानेर कहिल्यै पनि बेवास्ता वा हेलचेक्र्याइँ गर्नु हुँदैन।





