११ असार २०८३, बिहीबार

लाम्पाटा सीमा विवाद : गृह मन्त्रालयको जाँचबुझ टोली सिमकोटमा

हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली घटनास्थल नजिक पुगेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।

उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न आएको टोली घटनास्थल लाम्पाटा र च्याचौर क्षेत्र हुँदै सिमकोट पुगेको हो।

टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति, सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा नागरिक अगुवासँग घटनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

यसअघि गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरी उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए। घाइते चारै जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

सोही विवाद समाधानका लागि जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा अर्को छुट्टै समिति गठन गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button