११ असार २०८३, बिहीबार

प्रधानमन्त्री र परराष्ट्रको भिन्नाभिन्नै अभिव्यक्तिले विवाद चर्कियो, नारायणकाजीको कडा टिप्पणी

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भनाइमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति र परराष्ट्र मन्त्रालयको प्रतिक्रियालाई लिएर प्रश्न उठाएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिलाई स्पष्ट पार्ने भन्दै परराष्ट्र मन्त्रालयले प्रवक्तामार्फत ‘कतिपय स्थानमा भारतको जग्गा नेपालमा रहेको हुन सक्ने’ भनी प्रधानमन्त्रीले बोलेको उल्लेख गरेको छ। तर, प्रधानमन्त्रीको मूल अभिव्यक्ति र परराष्ट्रको भनाइबीच अन्तर देखिएको भन्दै श्रेष्ठले यसलाई ‘अर्को झुटको श्रृङ्खला’ का रूपमा टिप्पणी गरेका छन्।

श्रेष्ठले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले एउटा कुरा बोल्ने अनि परराष्ट्र मन्त्रालयले अर्को कुरा बोल्ने गरी स्पष्टीकरण दिएर किन नेपाली जनता र संसद्को अपमान गरिएको?’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा आफ्नो भनाइबाट देशभक्तहरूलाई चोट परेको भए क्षमा चाहन्छु भनी लेखेको सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले यसलाई विषयलाई हलुका रूपमा लिने प्रयास भएको धारणा राखेका छन्।

उनले समाधान झुटको श्रृङ्खला थपेर वा विषयान्तर गरेर नभई प्रधानमन्त्रीले स्पष्ट रूपमा ‘नेपालले भारतको भूमि मिचेको छैन, त्यस्तो गलत अभिव्यक्तिप्रति क्षमायाचना गर्दछु’ भनी बोल्नुपर्ने माग गरेका छन्। श्रेष्ठको यो प्रतिक्रियासँगै यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच थप ध्रुवीकरण हुने देखिएको छ। यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘खतरनाक’, ‘गलत’ र ‘राष्ट्रविरोधी’ भनी टिप्पणी गरिसकेका छन्। यस विषयलाई लिएर आजको संसद् बैठकमा विपक्षी दलहरूले कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button