अमेरिकी उप–विदेशमन्त्री रोजर्सको टोली दूतावासमा, उच्चस्तरीय छलफल जारी

अमेरिकी सार्वजनिक कूटनीति तथा जनसम्पर्क मामिला उप–विदेशमन्त्री सराह बी रोजर्स नेतृत्वको टोली महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेको छ। रोजर्ससँगै आएका उनका विशेष सल्लाहकार जोसेफ गुनार सिदाक र विशेष सहायक वेनेसा लिसबेथ भिदाल कास्टेलानोससमेत दूतावासमा आयोजित छलफलमा सहभागी भएका छन्।
नागपोखरीस्थित म्यारियट होटलमा बसेको टोलीसँग हिजो बिहान दूतावासका कार्यवाहक राजदूत स्कट उर्बमले साढे आठ बजेदेखि साढे नौ बजेसम्म छलफल गरेका थिए। त्यसपछि उप–विदेशमन्त्रीको टोली ठमेलस्थित होटल एलफ्टमा दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेको थियो। उक्त कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्गेल शेर्पा, सेभेन समिटका साहु तथा सङ्खुवासभाबाट रास्वपा उम्मेदवार मिङमा डेभिड शेर्पा, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख दीपकराज जोशीलगायत सहभागी थिए।
अमेरिकी टोलीले हिजो दिउँसो तीन बजे पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो। पाटनबाट सोझै होटल एलफ्ट पुगेको टोली साढे पाँच बजे नागपोखरीस्थित म्यारियट होटल फर्किएको थियो।





