१८ भाद्र २०८३, बिहीबार

दैलेखको जलजलेमा पेट्रोलियम उत्पादनको ढोका खुल्दै : दोस्रो चरणको सम्झौताको गृहकार्य सुरु

नेपालको खानी तथा भूगर्भ विभागले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य अगाडि बढाएको छ। विभाग र चाइना जियोलोजिकल सर्भेबिच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न गरिसकेको छ। उक्त कार्य सकिएसँगै विभागले व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन आवश्यक सहयोगका लागि सरकारसँग समन्वय गरिरहेको छ।

पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार विभागले चिनियाँ प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेसमेत सम्पन्न गरेको छ। यी सर्भेक्षणहरूले दैलेख क्षेत्रको भू–बनोट र पेट्रोलियम पदार्थको सम्भावनाबारे वैज्ञानिक तथ्याङ्क उपलब्ध गराएका छन्।

पेट्रोलियम पदार्थको उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमूना परीक्षणले पेट्रोल र प्राकृतिक ग्यास दुवैको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ। यसले नेपालमा व्यावसायिक रूपमै पेट्रोलियम पदार्थ उत्खनन गर्न सकिने आधार बलियो बनाएको छ।

परियोजनाको सफल कार्यान्वयन भएमा पेट्रोल र प्राकृतिक ग्यासको आयातमा हाल खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागको भनाइ छ। यसले आयात प्रतिस्थापनमा मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। दोस्रो चरणको सम्झौताले उत्खननको गति र दायरा दुवैलाई विस्तार गर्ने विश्वास लिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button