११ असार २०८३, बिहीबार

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। सोमबार बिहान नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले आइतबार प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनले माफी माग्नुपर्ने निर्णय गरेको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका नेताहरू सहभागी थिए। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा भारतले नेपाली भूमि मिचेको विषयमा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने तयारी भएको बताउने क्रममा नेपालले पनि भारतका विभिन्न ठाउँमा भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति सीमाविद्हरूले पनि गलत भन्दै नेपालले भारतको भूमि नमिचेको स्पष्ट पारिसकेका छन्।

प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुअघिल्लो सन्ध्यामा अकस्मात संसद्मा जवाफ दिने क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए। तर, यस विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै प्रतिक्रिया दिएको छैन। लामिछाने सोमबार दिउँसो १ बजे भारत प्रस्थान गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button