तुलसीपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु, आमा घाइते

दाङ । तुलसीपुरको घोराही रोडस्थित गुल्मचोकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमराज पराजुलीका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनाराज नेपाली रहेका छन्।
सोही दुर्घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली गम्भीर घाइते भएकी छन्। उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ६ बजे घोराहीबाट गुल्मचोक पार गरी उत्तरतर्फ जाँदै गरेको रा १ ख २१९२ नम्बरको टिप्पर र तुलसीपुरबाट लमहीतर्फ आउँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकल चोकमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बाबु–छोराको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।





