‘प्रधानमन्त्रीको अभिव्यक्ति साम्राज्यवादी षड्यन्त्रको नवदलाल सरकारको मुखरित अभिव्यक्ति’ भन्दै विप्लव नेतृत्वको नेकपाद्वारा देशव्यापी मसाल जुलुसको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोधमा आज साँझ देशव्यापी मसाल जुलुस आयोजना गर्ने घोषणा गरेको छ।
पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसद्मा दिएको जवाफ नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविपरीत रहेको उल्लेख गरेको छ। ‘यो अभिव्यक्ति नेपाल राष्ट्रको पहिचान र जनभावनाविपरीत छ। यसले वालेन्द्र शाह सरकारको नवदलाल पुँजीवादी, चरम राष्ट्रघाती र जनघाती चरित्र आम राष्ट्रवादी नेपाली जनता र विश्वसामु उदाङ्गो भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अन्जान र अस्पष्टताको उपज नभई नेपालको भौगोलिक अखण्डता र स्वाधीनताविरुद्धको साम्राज्यवादी षड्यन्त्रको नवदलाल सरकारको मुखरित अभिव्यक्ति मात्र भएको दाबी गरेको छ। ‘यो षड्यन्त्र नेपाली जनता र हाम्रो पार्टीका निम्ति सहनीय छैन,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीले आज साँझ ७ बजे देशव्यापी रूपमा मसाल जुलुस आयोजना गर्ने घोषणा गर्दै सिंगो पार्टीपङ्क्ति र सम्पूर्ण देशभक्त नेपाली जनतालाई उक्त कार्यक्रममा सहभागी हुन विशेष आह्वान गरेको छ।





