रवि लामिछाने भारत प्रस्थान, प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय भेटवार्ताको सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार मध्याह्न भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो।
भ्रमण टोलीमा लामिछानेकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहेका छन्। सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्त्वका साथ हेरिएको छ।


भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने भनिए पनि दुवै पक्षले आधिकारिक रूपमा भने यसको जानकारी गराएका छैनन्। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख गरिएको छ। अध्यक्ष नवीनकै निम्तोमा लामिछानेको भ्रमण हुन लागेको समेत विज्ञप्तिमा जनाइएको छ।

रास्वपा प्रवक्ता मनीष झाले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले दिल्लीमा उच्चस्तरीय भेटवार्तामा सहभागी हुने बताएका छन्। उच्चस्तरीय भेटवार्ताका लागि दिल्लीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको पनि उनले जानकारी दिए।
भ्रमणका क्रममा लामिछाने व्यक्तिगत भ्रमणका रूपमा अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको छ। साथै, दिल्लीमा प्रवासी नेपाली सम्पर्क मञ्चले आयोजना गरेको स्वागत कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। लाजपतनगरस्थित लाजपत भवन अडिटोरियममा जेठ २१ गते दिउँसो ३ बजे उक्त कार्यक्रम राखिएको छ। लामिछानेको भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ।





