प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य कूटनीतिक त्रुटि, तत्काल माफी माग्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिलाई अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत ठहर गरेको छ।
सोमबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै हरेक तथ्यले नेपालले भारतको भूमि मिचेको नदेखाउने उल्लेख गरेका छन्। ‘नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ। प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहितविपरीतको भनाइप्रति तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
एमालेले प्रधानमन्त्री शाहको उक्त भनाइ अक्षम्य कूटनीतिक त्रुटि भएको ठहर गरेको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा पहिलो पटक सम्बोधन गर्दै भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको बताएका थिए। उक्त अभिव्यक्तिप्रति सीमाविद् र पूर्वकूटनीतिज्ञहरूले पनि आपत्ति जनाइसकेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेका छन्।







