भारत भ्रमणका लागि रवि लामिछाने नयाँ दिल्लीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आज दिउँसो नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मार्फत २ बजे काठमाडौंबाट प्रस्थान गरेका थिए।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन्। सभापति लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, स्वकीय सचिव प्रदीप आचार्य, सांसदहरू विपिनकुमार आचार्य र दीपकराज बोहरा रहेका छन्।
यसैबीच, भाजपाका तीन जना नेताहरू पनि आजै सोही उडानबाट नयाँ दिल्ली फर्किएका छन्। शुक्रबार काठमाडौं आएको तीन सदस्यीय भाजपा टोली ग्वार्कोस्थित होटल रोयल टुलिपमा बसेको थियो। उक्त होटलमा सत्तारूढ रास्वपाले अघिल्लो महिना सांसदहरूका लागि आवासीय प्रशिक्षण सञ्चालन गरेको थियो।





