चिनियाँ राजदूत र स्वास्थ्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता, स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग सोमबार मन्त्रालयको कार्यकक्षमा औपचारिक शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा दुई देशबीचको लामो समयदेखिको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको थियो। मन्त्री मेहताले चीन सरकारले नेपाललाई हरेक सुखदुःखमा गरेको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा पुर्याएको योगदानको प्रशंसा गर्दै नवनियुक्त राजदूतको कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले चीनको प्रशंसनीय विकासबाट नेपालले पनि सिकेर काम गर्ने बताइन्।
राजदूत चाङले ठूलो जनादेशसहित गठन भएको नेपाल सरकारलाई बधाई दिँदै आर्थिक एवं सामाजिक विकासमा सरकारले ठूलो फड्को मार्न सकोस् भनी शुभकामना व्यक्त गरे। उनले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए। राजदूतले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राखे।





